काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीय सरकारले रसुवाका बाढीपीडितका लागि राहत सामग्री संकलन गरे पनि प्रभावित क्षेत्रमा पुर्याउन नसकेको बताएका छन्। संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग प्रभावकारी समन्वय नगर्दा राहत तथा उद्धार प्रभावित भएको उनको आरोप छ।
आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री थापामगरले संघीय सरकारले नुवाकोटको बट्टार र रसुवाको धुन्चेस्थित नेपाली सेनाका ब्यारेकमा राहत सामग्री संकलन गरेर राखेको बताए। प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि ती सामग्री प्रभावित क्षेत्रमा पुर्याउने जिम्मेवारी प्रदेश सरकारलाई दिइएको उनले जानकारी दिए।
‘उहाँहरूले राहत संकलन गर्नुभएको छ, तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन,’ थापामगरले भने, ‘त्यो सामग्रीलाई वितरण गर्नुपर्यो, अब त्यसको जिम्मा प्रदेश सरकारले लिनुपर्यो भनेर आज मलाई जिम्मा लगाउने काम भएको छ।’
प्रदेश सरकारले अब सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर राहत सामग्री प्रभावितसम्म पुर्याउने उनले बताए।
थापामगरका अनुसार गोसाइँकुण्ड, उत्तरगया र किस्पाङ गाउँपालिका बाढीबाट सबैभन्दा बढी प्रभावित छन्। गोसाइँकुण्डमा मात्रै दुई हजारभन्दा बढी मानिस बेपत्ता भएको दाबी गर्दै उनले स्याफ्रुबेसी र टिमुरेलगायत बजार क्षेत्र ध्वस्त भएको बताए। उत्तरगयाको बेत्रावती बजारमा पनि ठूलो क्षति भएको उनले जानकारी दिए।
उनले रसुवामा बाढीबाट पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको दाबी गरेका छन्। बाढीमा संविधानसभा सदस्य कर्ण लामाका परिवारका सदस्यसहित गोसाइँकुण्ड गाउँपालिकाकी पूर्वउपाध्यक्ष प्रतिभा लामा, वडा नम्बर २ का अध्यक्ष कामी छिरिङ तामाङ र वडा नम्बर ५ का अध्यक्ष दावा मिङ्मा तामाङसमेत बेपत्ता रहेको उनले बताए।