पोखरा। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका र विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा फेला परेका १०२ शवको पहिचान, डीएनए नमुना संकलन तथा पोस्टमार्टम प्रक्रिया पोखरामा सुरु गरिएको छ ।
धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला परेका शवको परीक्षण तथा व्यवस्थापनका लागि पर्याप्त सुविधा नभएपछि कास्की जिल्ला प्रशासनको समन्वयमा पोखरा ल्याइएको हो । जिल्ला प्रशासनका अनुसार बिहीवार राति मात्रै पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पोखरा ल्याइएको थियो ।
एकैपटक ठूलो संख्यामा शव ल्याइएपछि पोखराका स्वास्थ्य संस्थामा व्यवस्थापनको चाप बढेको छ । अधिकांश शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तनहुँमा फेला परेका नौ शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक परीक्षण गरी थप व्यवस्थापनका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।
पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव राख्न सक्ने क्षमता रहेकाले शवगृहहरू लगभग भरिएका छन् ।
क्षतविक्षत अवस्थामा फेला परेका शवको पहिचान गर्न चुनौती देखिएको स्थानीय प्रशासनले जनाएको छ । कास्की प्रहरी र जिल्ला प्रशासनको टोलीले शवको वैज्ञानिक परीक्षण तथा पहिचानलाई प्राथमिकता दिएर काम गरिरहेको कास्कीका प्रहरी उपरीक्षक नविन कार्कीले बताए ।
उनका अनुसार प्रत्येक शवको तस्बिरसहित आवश्यक विवरण अभिलेखमा राख्ने र डीएनए परीक्षणका लागि नमुना संकलन गर्ने काम भइरहेको छ ।
परीक्षण प्रक्रिया पूरा भएपछि पहिचान हुन नसकेका शवको हुलिया र विस्तृत विवरणसहित सार्वजनिक सूचना जारी गरिने प्रशासनले जनाएको छ । बाढीपछि आफन्त हराइरहेका परिवारलाई पोखराका अस्पतालमा सम्पर्क गरी पहिचान प्रक्रियामा सहयोग गर्न प्रशासनले आग्रह गरेको छ ।
पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रिया र निर्धारित मापदण्ड पूरा गरी अन्तिम संस्कार गरिने प्रशासनले जनाएको छ ।