काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘रोड टु युएफसी सिजन–५’को सेमिफाइनलमा जित निकाल्दै फाइनल प्रवेश गरेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शाहले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत ढाँटलाई बधाई दिँदै उनको सफलताले नेपाली खेलकुद र खेलप्रेमीका लागि गौरव बढाएको बताएका हुन् ।
साथै, नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन योगदान दिएको भन्दै उनले ढाँटलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री शाहले लेखेका छन्, “नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु युएफसी सिजन–५’मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद।”
उनले ढाँटको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले विपद्का बेला सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकको उद्धार, राहत तथा व्यवस्थापनमा केन्द्रित रहेको समेत बताएका छन् । उनले मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्नेगरी सरकार निरन्तर काम गरिरहेको बताएका छन्।