धादिङ। तीन दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्ड शुक्रवारदेखि सञ्चालनमा आएको छ । राजमार्गका विभिन्न स्थानमा थुप्रिएको लेदो, पहिरो र डेब्रिज पन्छाएपछि सवारी आवागमन खुलाइएको हो ।
सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार गलौँदी, बाङ्गे, पोखरे, जरेखेत र बैरेनीलगायत स्थानमा ३ देखि ४ मिटरसम्म लेदो र डेब्रि थुप्रिएको थियो । त्यसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
अर्यालले यसपटकको पहिरो र प्राकृतिक प्रकोपको प्रकृति विगतको भन्दा फरक र चुनौतीपूर्ण रहेको बताए । ‘सामान्यतया २ देखि ४ घण्टाभित्र सडक खुलाउने हाम्रो अनुभव थियो, तर यसपटक बाहिरबाट ठोस देखिएको माटो मेसिन चलाउनासाथ लेदोमा परिणत हुने खालको थियो,’ उनले बताए ।
बस्तीका कारण लेदो निकासमा समस्या हुनुका साथै मेसिन तथा अन्य उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाइ भएपछि सडक खुलाउन समय लागेको विभागले जनाएको छ । तीन दिनसम्म निर्माण व्यवसायी, सुरक्षा निकाय, स्थानीय सरकार र स्थानीयवासीले संयुक्त रूपमा श्रम तथा उपकरण परिचालन गरेका थिए ।
सुरक्षा संवेदनशीलता र प्रतिकूल मौसमका कारण बीचमा केही घण्टा काम रोक्नुपरेपछि सडक सञ्चालनमा ढिलाइ भएको विभागले जनाएको छ ।
सडक खुलेसँगै पहिलो चरणमा तीन दिनदेखि राजमार्गमा अलपत्र परेका तथा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ । विभागले जोखिम अझै कायम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।