काठमाडौं। बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा बाढीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत र पुनःस्थापना प्याकेज ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।
उनका अनुसार सरकारले भारतसँग जीटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।
प्रवक्ता पोखरेलका अनुसार बाढीमा परी हालसम्म ४७७ जनाको मृत्यु भएको छ। चितवनमा सबैभन्दा बढी १८८, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।
सरकारका सम्पूर्ण संयन्त्र उद्धार तथा विपद्पछिको व्यवस्थापनमा परिचालित रहेको पोखरेलले बताए।