पोखरा। पोखराको पर्यटन तथा यातायात सेवामा नयाँ सुविधासहितका लक्जरी बस थपिएका छन्। शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रालिले करिब ६ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न लक्जरी बस सञ्चालनमा ल्याउन लागेको हो।
पोखरा महानगरपालिका–२५ हेम्जा मिलनटोलबाट बिहान ६ बजे छुट्ने बसमा यात्रुको सुविधाका लागि बसभित्रै शौचालय, चिया र कफीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। पोखरामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बसको शुभारम्भ गरे।
कम्पनीका अध्यक्ष टीकाराम अधिकारीका अनुसार यात्रुबाट सेवा सञ्चालनबारे निरन्तर चासो आएपछि आगामी भदौ ३ गतेदेखि नियमित सेवा सुरु गर्ने तयारी गरिएको छ। पोखराबाट काठमाडौं, मुक्तिनाथलगायत धार्मिक तथा पर्यटकीय गन्तव्यमा आवागमन गर्ने यात्रुलाई लक्षित गरी सेवा सञ्चालन गर्न लागिएको हो।
‘हामीले यात्रुहरूलाई जुन स्तरको सुविधाको आश्वासन दिएका थियौँ, सेवा सुरु भएपछि उहाँहरूले ती सबै सुविधाहरू प्रत्यक्ष अनुभव गर्न पाउनुहुनेछ,’ अधिकारीले भने।
महासंघ अध्यक्ष सिटौलाले पोखराबाट काठमाडौंका लागि सुरु हुन लागेको सेवा नेपालकै उत्कृष्ट पर्यटकीय यातायात सेवामध्ये एक हुने दाबी गरे। उनका अनुसार प्रतिवटा बसमा करिब २ करोड रुपैयाँ लगानी गरिएको छ।
यातायात सेवा प्रविधिमैत्री बनाउन जीपीएस, क्यासलेस भुक्तानी र अनलाइन टिकटिङलाई प्राथमिकता दिनुपर्नेमा सिटौलाले जोड दिए। यात्रुले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था आवश्यक रहेको उनले बताए।
‘अब यात्रीले घरमै बसेर टिकट लिन सक्ने व्यवस्था हुनुपर्छ,’ सिटौलाले भने।
नयाँ बसका चालकलाई ‘पाइलट’ र सहचालकलाई ‘एयर होस्टेस’ शैलीको पोसाकमा परिचालन गरिएको छ। सिटौलाले पोसाकसँगै यात्रुसँगको व्यवहार र सेवामा समेत उच्च व्यावसायिकता तथा विनम्रता कायम गर्नुपर्ने बताए।
उनले सडक दुर्घटना वा अन्य विवादका क्रममा चालक तथा सहचालकमाथि हुने भौतिक आक्रमण र दुर्व्यवहार रोक्न राज्यले सुरक्षाको प्रभावकारी व्यवस्था गर्नुपर्ने मागसमेत गरे। कार्यक्षेत्रमा खटिने चालक वर्गलाई प्रहरी तथा ट्राफिक प्रहरीसरह कानुनी सुरक्षा दिनुपर्ने उनको भनाइ थियो।