कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
भारत सरकारको करिब १ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत भवन निर्माण हुन लागेको हो। परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।
उपप्रमुख जोशीसहित स्थानीय सरोकारवालाले नयाँ भवन निर्माणपछि विद्यार्थी र शिक्षकका लागि अध्ययन–अध्यापनको वातावरण सुधार हुने तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भारतीय दूतावासका अनुसार यो कञ्चनपुर जिल्लामा कार्यान्वयन हुने ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।