काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले महिनावारीका कारण बालिकाहरूको शिक्षा र भविष्य प्रभावित भइरहेको भन्दै विद्यालयमा महिनावारीमैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेकी छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महिनावारी प्राकृतिक प्रक्रिया भए पनि त्यसकै कारण हजारौँ बालिकाले विद्यालय छाड्नुपर्ने र आफ्ना सपना रोक्नुपर्ने अवस्था रहेको बताइन् ।
सेभ द चिल्ड्रेनको सन् २०२५ को तथ्यांक उद्धृत गर्दै उनले नेपालमा ५५.६ प्रतिशत बालिका महिनावारीका बेला विद्यालयमा अनुपस्थित हुने गरेको र १७.८ प्रतिशत बालिका महिनावारीको सम्पूर्ण अवधिभर विद्यालय जानबाट वञ्चित हुने गरेको बताइन् । यो केवल विद्यालय अनुपस्थितिको विषय नभई बालिकाको आत्मविश्वास र अवसरमाथिको अवरोध भएको उनको भनाइ थियो ।
धेरै विद्यालयमा अझै पनि बालिकामैत्री शौचालय, स्वच्छ पानी, साबुन र स्यानिटरी प्याड विसर्जनको सुरक्षित व्यवस्था नहुँदा समस्या कायमै रहेको भन्दै उनले महिनावारीमैत्री वातावरण निर्माण राज्यको संवैधानिक दायित्व भएको बताइन् ।
उनले निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई थप व्यवस्थित र नियमित बनाउन, सबै विद्यालयमा अनिवार्य ‘वास’ सुविधा सुनिश्चित गर्न तथा महिला शिक्षक वा स्वास्थ्यकर्मीमार्फत परामर्श सेवाको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
‘समस्या महिनावारीमा होइन, हाम्रो समाज, संरचना र सोचमा छ । सरकारले स्यानिटरी प्याड वितरण कार्यक्रम ल्याए पनि यसलाई कागजबाट कक्षाकोठासम्म र नीतिबाट परिणामसम्म पुर्याउनु आजको प्रमुख चुनौती हो । हाम्रा छोरीहरूलाई महिनावारीका कारण पछाडि नपारौँ । उनीहरूको कक्षा नछुटोस् र सपना नरोकियोस्,’ उनले भनिन् ।
महिनावारीसँग जोडिएका सामाजिक लाज र गलत धारणाविरुद्ध राष्ट्रिय चेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले छाउपडीजस्ता हानिकारक अभ्यास अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयनसँगै निरन्तर अनुगमन र जनचेतना आवश्यक रहेको बताइन् ।
भौतिक पूर्वाधारसँगै बालिकाको स्वास्थ्य, सम्मान र गरिमालाई विकासको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।