उन्नाइसौँ शताब्दीको अन्त्यतिर, जब महिलाहरूका लागि उच्च शिक्षा र पेशागत जीवन अपवादजस्तै मानिन्थ्यो, त्यही समयमा जमिनी सेनले कलकत्ता मेडिकल कलेजबाट चिकित्सा शिक्षा हासिल गरिन्। त्यसपछि क्याम्ब्रिज, लन्डन र बर्लिनसम्म फैलिएको उनको शैक्षिक यात्राले उनलाई बेलायतको प्रतिष्ठित रोयल कलेज अफ फिजिसियन्स एन्ड सर्जन्स अफ ग्लास्गोबाट ‘फेलो’ बन्ने विश्वकै पहिलो महिला सर्जनको ऐतिहासिक उचाइमा पुर्यायो।
तर उनको जीवनको सबैभन्दा रोचक र नेपालका लागि महत्वपूर्ण अध्याय काठमाडौँमा लेखियो। सन् १८९९ मा उनी तत्कालीन राजा पृथ्वी वीर विक्रम शाहकी राजचिकित्सकका रूपमा नेपाल आइन्। यहाँ उनले उपचार सेवामात्र होइन, सरसफाइ, सार्वजनिक स्वास्थ्य र महिला स्वास्थ्य सुधारका क्षेत्रमा पनि उल्लेखनीय योगदान दिइन्। आफ्नो दक्षता, करुणा र सेवाभावका कारण उनी नेपाली समाजमा ‘साडीवाली डाक्टरिन साहेब’का नामले परिचित भइन्।
नेपाल बसाइका क्रममा राजा पृथ्वी वीर विक्रम शाह र जमिनी सेनबीच गहिरो विश्वास र आत्मीय सम्बन्ध विकसित भएको थियो। दरबारभित्र बदलिँदो राजनीतिक परिस्थिति, त्यसले निम्त्याएका जटिल घटनाक्रम, राजाले उनको सुरक्षाप्रति देखाएको चासो, नेपाल छोड्न दिएको सुझाव र विदाइका बेला उपहारस्वरूप प्रदान गरेको सुनको पकेट घडीजस्ता प्रसंगहरूलाई पुस्तकले अत्यन्त रोचक र संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
यही असाधारण तर लामो समयसम्म ओझेलमा परेको जीवनकथालाई प्रखर लेखिका दीप्ता रोय चक्रवर्तीले ‘डाक्टरिन जमिनी सेन’ मार्फत पुनः प्रकाशमा ल्याएकी छन्। अझ विशेष कुरा के छ भने, दीप्ता स्वयं जमिनी सेनकी ग्रेट निस (भतिजीकी नातिनी) हुन्। त्यसैले यो पुस्तक केवल जीवनी मात्र नभई इतिहास, पारिवारिक स्मृति र व्यक्तिगत अनुभूतिहरूको दुर्लभ संगम बनेको छ।
जमिनी सेन वास्तवमा को थिइन्? नेपालका एक राजासँग उनको सम्बन्ध किन यति विशेष बन्यो? किन उनले जीवनको उत्तरार्धसम्म नेपाललाई आफ्ना स्मृतिमा जीवित राखिन्? र यति ठूलो योगदान दिएकी एक महिलाको नाम इतिहासमा किन ओझेल पर्यो?
यी प्रश्नहरूको उत्तर खोज्न चाहने पाठकका लागि ‘डाक्टरिन जमिनी सेन’ एक आकर्षक, विश्वसनीय र पठनीय कृति हो। इतिहासका केही कथाहरू यस्ता हुन्छन्, जो केवल विगतको दस्तावेज होइनन्, वर्तमानलाई पनि नयाँ दृष्टिकोणले हेर्न प्रेरित गर्छन्। डा. जमिनी सेनको कथा त्यस्तै एक दुर्लभ कथा हो।