कंगो। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला प्रकोपलाई अत्यन्त जटिल संज्ञा दिएका छन् । द्वन्द्व, असुरक्षा, विस्थापन, खाद्यान्न अभाव र समुदायमा व्याप्त अविश्वासका कारण यस घातक रोगको नियन्त्रण प्रयासमा गम्भीर चुनौती थपिएको उनले बताए। बिहीवार ढिलो गरी कंगोको राजधानी किन्शासा पुगेका महानिर्देशक टेड्रोसले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रभावित समुदायहरू एक्लो नभएको र उनीहरूको सहयोगका लागि डब्लुएचओ प्रतिवद्ध रहेको सन्देश दिन आफू आएको बताए। डब्लुएचओका टोलीहरू यसअघि नै पूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा परिचालन भइसकेको जानकारी दिँदै उनले शुक्रवार सो क्षेत्रको भ्रमण गरी वस्तुस्थितिको मूल्यांकन गर्ने बताए। सशस्त्र आक्रमणका कारण स्वास्थ्य प्रतिकार्यमा अवरोध पुगेको उल्लेख गर्दै टेड्रोसले प्रभावित क्षेत्रहरूमा तत्काल युद्धविरामका लागि पुनः आह्वान समेत गरे। केही देशहरूले कंगोबाट आउने यात्रुहरूमाथि लगाएको यात्रा प्रतिबन्धका सम्बन्धमा बोल्दै महानिर्देशक टेड्रोसले डब्लुएचओले त्यस्तो प्रतिवन्धको सिफारिस नगरेको स्पष्ट पारे।
उनले यात्रा प्रतिबन्धका कारण जनस्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने चेतावनी समेत दिए। प्रकोपबारे पारदर्शी रूपमा सूचना सार्वजनिक गर्ने देशहरूले आफूलाई दण्डित भएको महशुस गरेमा भविष्यमा प्रकोपको प्रारम्भिक रिपोर्टिङ प्रक्रिया निरुत्साहित हुनसक्ने उनको तर्क छ ।
कंगोको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्लो महामारीबाट हालसम्म १ हजार भन्दा बढी व्यक्ति संक्रमित भएको आशंका गरिएको छ भने २३८ जनाको मृत्यु भइसकेको छ । यो कंगोमा फैलिएको इबोलाको १७ औं महामारी हो । प्रयोगशाला परीक्षणहरूले यसपटक बुन्डिबुग्यो नामक भाइरसको प्रजाति पहिचान गरेका छन्, जुन इबोलाको तुलनात्मक रूपमा दुर्लभ स्वरूप मानिन्छ ।
डब्लुएचओले गत मे १७ मा यस प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । त्यस्तै, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि यसलाई महाद्वीपीय जनस्वास्थ्य सुरक्षा आपतकालका रूपमा परिभाषित गरेको छ ।