काठमाडौँ । कैलालीमा परीक्षण गर्दा माटोमा छारेपन (नुन) को मात्रा अत्यधिक देखिएको छ । यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ ।
सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा माटो परीक्षण गरिएको हो । बाली लगाउनु पूर्व माटोको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दर पुरको प्राविधिक सहयोगमा टीकापुरको सत्ती र भजनीमा माटो परीक्षण गरिएको हो ।
शनिबार र आइतबार गरिएको परीक्षणमा सत्तीमा ९१ र भजनीमा ३० किसानले आफ्नो बारीको माटो परीक्षण गराएका थिए । सहकारीका शेयर सदस्यलाई वातावरण र मानव स्वास्थ्यका लागि माटोको गुणस्तर जोगाउनुपर्छ भन्ने सचेतना फैलाउन र बाली संरक्षणका लागि माटो परीक्षण गरिएको सहकारीका सचिव कृत ठकुल्लाले जानकारी दिए ।
परीक्षण गर्दा माटोको अवस्था चिन्ताजनक देखिएको माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका सहायक माटो विज्ञान अधिकृत हमप्रसाद न्यूरेले बताए । ‘‘परीक्षण गरिएका सबै किसानको माटोको गुणस्तर खस्किएको पाइयो, १२१ किसानको माटो जाँच गर्यौँ, सबै माटोमा छारेपन उच्च देखियो’’, न्यूरे भन्छ्न्, ‘‘माटोमा नाइट्रोजन, फस्फोरस पोटासको अवस्था कमजोर देखिएको छ, यसले बाली उत्पादन घटाउँदै लगेको छ ।’’
माटो विज्ञ न्यूरेका अनुसार माटोको अवस्था यस्तै रहेमा अबको १० वर्षपछि यो माटोबाट उत्पादन लिन सकिदैन । ‘‘अब किसानको बारीको माटो परीक्षण होइन, सुधार गर्न कार्यक्रम राख्न सुझाव दिएको छु’’, उनले भने, ‘‘स्थानीय सरकारले अब परीक्षणभन्दा सुधारका कार्यक्रम ल्याउनुपर्छ । बस्तु भाउ पाल्ने घट्दै जाँदा गोबर मल नपाइने भएकाले हरियो मल बढाउन ढैचा खेती अनिवार्य गर्ने, प्रांगारीक मल बढाउनु पर्छ ।”
परीक्षण प्रयोगशालाले सुदूरपश्चिमका जिल्लाका कृषि ज्ञान केन्द्र, स्थानीय तह, संघसंस्था, सहकारीसँग समन्वय गरेर वर्षमा पाँच हजार बढी नमुना परीक्षण गर्ने र सुझाव दिने गरिएको जनाएको छ । यसबाहेक किसानले स्वयंले माटो परीक्षण गर्न ल्याउने गरेका छन् । ‘‘किसानले आफैँ परीक्षणका लागि ल्याउँदा एउटा नमुनाको रु १०० लिने गरिएको छ । विभिन्न विश्वविद्यालयबाट आएका विद्यार्थीले जाँच गरेको रु. २०० लिइन्छ । सहकारी तथा संस्थाले गरेका रु. ४०० शुल्क तोकिएको छ’’, उनले भने, ‘‘यसबाहेक कृषि ज्ञान केन्द्रको अनुरोधमा सुदूरका नौ वटै जिल्लामा माटोको नमुना परीक्षण गछौँ ।’’
माटो परीक्षणपछि किसानलाई माटो स्वस्थता प्रमाणपत्र उपलब्ध गराइएको छ । किसानलाई दिइने माटो स्वस्थता कार्डमा किसानको माटोको पिएच, प्रांगारीक पदार्थको अवस्था, नाइट्रोजन, फस्फोरस, पोटास, माटोको बनोट उल्लेख गरिएको छ । साथै माटो सुधारका लागि गर्नुपर्ने कार्यबारे कार्डमा उल्लेख गरिएको छ ।
कार्डको आधारमा बाली जोगाउन किसानलाई गोबर मल, हरियो मल जस्ता प्रांगारिक मल प्रयोग गर्न सिकाउनुपर्ने आवश्यकता रहेको छ । स्थानीय पालिकाहरूले हरियो मल, जैविक मलबारे किसानलाई शिक्षा दिइरहे पनि माटोमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटो र वातावरण बिग्रँदै गएकाले किसान स्वयम सचेत हुनुपर्ने उनको सुझाव छ ।
दिगो माटो व्यवस्थापनमा सघाउका लागि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१ बनाएर लागू गरिसकेको छ । प्रांगारिक मल र प्रांगारिक विधिमा गरिने खेती किसानीमा जोड दिइरहेको छ । संघ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले यस विषयलाई प्राथमिकतामा राखेको कृषि प्राविधिक बताउँछन् । टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी कृषि शाखामार्फत रासायनिक मल र विषादी दुवैको प्रयोग घटाउने र उत्पादन बढाउने उद्देश्यले माटोको गुणस्तरअनुसार खेती गर्ने काममा हौसला दिने काम भइरहेको बताउँछिन् ।
‘‘माटोको गुणस्तर बिग्रन नदिन किसानलाई हरियो मल उत्पादनबारे जानकारी दिने गरेका छौँ, ढैँचा (हरियो मल) खेती गर्न सल्लाह दिन्छौँ’’, उनले भनिन्, ‘‘माटो स्वस्थ भएमा वातावरण स्वस्थ हुने भएकाले माटो सुरक्षामा किसानले ध्यान दिनुपर्छ ।’’