
वालिङ (स्याङ्जा), ४ कात्तिक । जिल्लाको चापाकोट नगरपालिका-४ पुरीगाँउमा शनिवार साँझ सकेटबम विस्फोट भएको छ ।
दुई वर्षअगाडि नेपाली सेनाबाट अवकाश प्राप्त ४५ वर्षीय गोबिन्द पुरीले आफ्नो तीन तले घरको दोस्रो तलामा रहेका पुराना भाडावर्तनहरू फ्याँक्ने क्रममा हिजो साँझ ५:०० बजे सकेट बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले बताए ।
विस्फोटनबाट घरमा सामान्य क्षति हुनुका साथै घरधनी पुरीको शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी पौडेलले केटिएम दैनिकलाई बताए ।
इलाका प्रहरी कार्यालय चापाकोटबाट पुगेको प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्दै घाइते पुरीलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा लगेको थियो ।
घटनास्थलमा आज जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृत र सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली पुगेको थियो ।
उक्त टोलीले घटनास्थलबाट ‘हाई एक्सप्लोसिभ पीईके’- ९०० ग्राम, १.५ मिटरका डेटकट दुई थान, जंगी राउण्ड एक थान, खाली खोका दुईवटा नियन्त्रणमा लिएको छ ।
घाइते भएका घरधनीलाई उपचारपश्चात् इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जा हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताए ।