काठमाडौँ, २१ असोज । केही दिनअघि परेको अविरल वर्षाका कारण काभ्रे जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या हालसम्म ७८ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार हालसम्म ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिका गरी कूल ७८ जनाको निधन भएको हो ।
१३ स्थानीय तह रहेको काभ्रे जिल्लामा हालसम्म १० स्थानीय तहमा मानवीय क्षति भएको विवरण सार्वजनिक भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) मिन बहादुर घलेका अनुसार पनौती नगरपालिमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।
पनौतीमा १८ जना, रोशी गाउँपालिकामा १३ जना, तेमाल र बेथानचोकमा १२/१२ जना, नमोबुद्ध र मण्डनदेउपुरमा सात/सात जना, बनेपा र भुम्लुमा तीन/तीन जना, धुलिखेल नगरपालिकामा दुई जना र चौंरीदेउराली गाउँपालिकामा एक जनाको निधन भएको हो ।
पनौतीमा निधन भएकामध्ये एक जना अमेरिकन विदेशी नागरिक रहेको र रोशी गाउँपालिकामा ज्यान गुमाउने आठ महिलामध्ये एक महिलाको घर रामेछाप रहेको प्रहरीले जनाएको छ ।