महोत्तरी, १६ असोज । हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मंगलबार (हिजो) दिउँसो १:०० बजे मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार अलीको साथबाट एक हजारका १००१ वटा नोट, रु. ५०० का ३०० वटा, रू १०० को दरले ३०१ वटा, रू. ५० को दरले ५ वटा गरी एघार लाख एक्कासी हजार तीन सय रुपैया बरामद गरिएको हो ।
पक्राउ परेका अलीउपर महोत्तरी जिल्ला अदालतबाट हुण्डी कारोबार मुद्दा शिर्षकमा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।