काठमाडौँ, ११ असोज । भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा,स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
विभिन्न जिल्लामा आठ वटा विद्यालय भवनसहित कूल १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अगाडि बढाउन आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय दूतावासबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित राज्यलक्ष्मी माध्यमिक विद्यालय, मानेभञ्ज्याङ गाउँपालिकास्थित स्वर्णन्तरल आधारभूत विद्यालय, दैलेखको दुल्लू नगरपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय, मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालय, चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालय र सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा नयाँ भवनहरू निर्माण हुनेछन् ।
त्यस्तै गरी भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन, सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजनाको निर्माण, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवद्धन केन्द्रको लागि भवन निर्माण, धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसूति केन्द्रको निर्माण र दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको निर्माण रहेका छन् ।
परियोजनाहरू नेपाल सरकारका स्थानीय निकायहरूमार्फत कार्यान्वयन गरिनेछन् । परियोजनाको लागत रकम ४७ करोड ४० लाख रुपैयाँ रहेको छ ।
यी परियोजनाहरूको निर्माणले स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरू उपलब्ध गराउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
सन् २००३ यता भारतले यी सहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको जनाएको छ । जसमध्ये ४९० वटा सम्पन्न भइसकेको र बाँकी परियोजनाहरू विभिन्न चरणमा सञ्चालित रहेको दूतावासले जनाएको छ ।