पोखरा, ८ असोज । मुस्ताङबाट पोखरा ल्याएर १०३ वटा च्याङ्ग्रा चोरी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
असोज १ गते मुस्ताङ वारागुरङ मुक्तिक्षेत्र गाउँपालिका-३ वारागुरु बस्ने ताक्ला गुरुङको घरमा पुगेका तीन व्यक्तिहरूले गुरुङबाट १०३ वटा च्याङ्ग्रा रु ४२ लाखमा खरीद गर्ने सौदा गरेका थिए ।
आफूहरूले अहिले रकम लिएर नआएको भन्दै पोखरा पुगेर रकम दिने विश्वासमा पारेर उनीहरूले च्याङ्ग्राधनीसमेतलाई लिएर पोखरासम्म च्याङ्ग्रा लिएर आए ।
पोखरा आइसकेपछि गुरुङ होटलमा सुतिरहेको अवस्थामा च्याङ्ग्रा लोड गरिएको गाडी लिएर उनीहरू फरार भएका थिए ।
गुरुङले आफू ठगीएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि प्रहरीले घटनाका मुख्य आरोपितलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति रुपन्देही शुद्धोधन गाउँपालिका-४ स्थायी घर भई हाल पोखरा-७ मासवार बस्ने ५० वर्षको मोहम्मद फकिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले केटिएम दैनिकलाई बताए ।
उनलाई प्रहरीले सोमबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका फकिरले प्रहरीसँगको बयानमा असोज २ गते नै पोखरा-२५ घट्टेखोलाबाट ती च्याङ्ग्राहरू विक्रीवितरण गरिसकेको बताएका छन् । विभिन्न गाडिमा लोड गरेर १०३ वटा च्याङ्ग्रा विक्री गरिसकेको उनको बयान छ ।
उनीउपर कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको डिएसपी शर्माले बताए ।