रौतहट, ८ असोज । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौँ विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरू बेहोस हुन थालेका छन् ।
गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांश विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ ।
अत्यधिक गर्मी बढेका कारण सोमवार स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरू बेहोस भएका थिए ।
जिल्ला शिक्षा समन्वय इकाई रौतहटका अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निस्किएको थियो ।
गर्मीबाट बिद्यार्थीहरूलाई बचाउन राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६:३० बजे गरिएको सिंहले बताएका छन् । त्यस्तै चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।
त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६:३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन् । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान ६: ३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पण्डितले बताए ।
१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विद्यार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ ।