हेटौँडा, ३ असोज । मकवानपुर प्रहरीले ठुलो मात्रामा भन्सार छली गरेर नेपाल भित्र्याइएको सामान बरामद गरेको छ ।
हिजो दिउँसो ३:०० बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा-१५ रातामाटे चेकपोस्टमा एक भारतीय नम्बर प्लेटको ट्रकबाट उक्त सामान बरामद भएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले सुनसरीबाट हेटौडा हुँदै काठमाडौँ जाँदै गरेको बीआर०५ जीडी १३४३ नम्बरको ट्रकमा लोड गरिएको सामान शङ्कास्पद लागेपछि नियन्त्रणमा लिएको थियो ।
३४५ बोरा आलुको भन्सार बिल रहेको उक्त ट्रकमा २६४ बोरा आलु राखिएको थियो ७४ वटा बोरामा विभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एवं पाइन्टको कपडाहरू भेटिएको आज प्रहरी चौकी रातामाटेमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
बरामद भएको सामान र भारतीय ट्रकको अनुमानित बजार मूल्य एक करोड ३५ लाख रुपैयाँ रहेको एसपी रिजालले बताए ।
उक्त ट्रकका चालक देश भारत, बिहार राज्य, जिल्ला मोतिहारी, थाना तुकालिया, पुर्वी चम्पारण सपही बस्ने वर्ष ३० का जन्दार आलम र सहचालक सोही जिल्लाको पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने वर्ष १९ का मुना मियालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेको ट्रक, त्यसका चालक र सहचालक थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।