हेटौँडा, १ भाद्र । हेटौँडा उपमहानगर-९ धाप स्थित भित्री सडक खण्डमा आज दिउँसो भएको दुर्घटनामा परेर पाँच वर्षको बालकको निधन भएको छ ।
मयुरधापबाट हेटौडा बजार तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलले सोही स्थानमा बस्ने रामचन्द्र अर्यालका पाँच वर्षका छोरा सिभांस अर्याल ठक्कर दिएको थियो ।
बाटोको छेउमा हिँडिरहेको अवस्थामा बालकलाई मोटरसाइकलको ठक्कर दिएको थियो ।
घाइते बालक उपचारको लागी हेटौँडा अस्पताल ल्याएकोमा आज दिउँसो ३:०५ बजे चिकित्सकले मृत घोषित गरेका हुन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल चालक मकवानपुर हेटौडा-१४ बस्ने अन्दाजी १७ वर्षका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक १८ वर्षभन्दा कम उमेरको भएकाले उनको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।