सिन्धुली, २९ श्रावण । छिमेकीको निधनमा मलामी गएका व्यक्ति आफै खोलामा बगेका छन् ।
जिल्लाको दुधौली- ९ जितपुरमा सोमबार बिहान छिमेकीको मलामी गएका स्थानीय ५१ वर्षको शुरेश मलिकलाई खोलाले बगाएको हो ।
लखी खोलाले मलिकलाई बगाएपछि मलामी गएका व्यक्तिहरूले उनको खोजतलास गर्दा ५०० मिटर तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सह-प्रवक्ता प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिए ।
स्थानीयले खोलाबाट शव निकाले प्रहरीले खबर गरेपश्चात् प्रहरी चौकी दुधौलीबाट प्रहरी नायव निरीक्षकसहित दुई जना र इलाका प्रहरी कार्यालय डकाबाट प्रहरी निरीक्षकसहित पाँच जनाको टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थल प्रहरी चौकीबाट अन्दाजी दुई किलोमिटर पश्चिम र इलाका प्रहरी कार्यालयबाट १७ किलोमिटर पूर्वमा रहेको बताइएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले शवको कानुनी प्रक्रिया पुरा गर्दै पोस्टमार्टमको लागि अस्पताल पठाएको प्रहरी निरीक्षक कटुवालले बताए ।