काठमाडौँ, २८ श्रावण । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेटवार्ता गरेकी छन्।
सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितलनिवासमा नेपालका लागि अस्ट्रेलियनको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी राजदूत भोल्कले विदाइ भेट गरेकी हुन्।
भेटघाटमा दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हति र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले बताए ।
राजदूत भोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताइन्। साथै उनले मानवीय सहायताका साथै विकास सहायताका रूपमा पनि अस्ट्रेलिया सधैँ नेपालको साथमा रहने पनि बताइन्।
लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरूबिच सहमति भएकामा उनले खुसी व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटघाटमा राष्ट्रपति पौडेलले राजदूत भोल्कलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
आजै राजदूत भोल्कले गृहमन्त्री रमेश लेखकसँग पनि विदाई भेट गरेकी थिइन् ।