ललितपुर, २८ श्रावण । बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले काम सानो र ठुलो नभन्ने हो भने देशमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताएकी हुन् ।
उनले काम सानो वा ठुलो भनेर विभेद गर्नु भन्दा देशभित्रै भविष्य खोज्न आफ्नै देशभित्र जस्तोसुकै काम गर्न पनि तयार हुनुपर्ने बताइन् ।
‘विदेशमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्न तयार हुने, नेपालमा चाहिँ छ घण्टा पनि काम नगर्ने प्रवृत्ति हुनुहुँदैन, हामीले आफ्नो अवस्था अनुसार आफूलाई ढाल्नुपर्छ। तसर्थ नेपालका काम गर्नका लागि अवसर छ, युवाहरू निराश हुनुपर्ने अवस्था छैन,’ उनले भनिन् ।
बागमती प्रदेशले सूचना प्रविधिलाई जोड दिँदै धेरै कार्यविधि बनाएको भन्दै यसलाई उपयोग गर्न पनि उनले आग्रह गरिन् ।
बागमती प्रदेशले प्रदेश युवा नीति, युवा वैज्ञानिक प्रोत्साहन कार्यविधि बनाएको जानकारी गराउँदै प्रदेशका १३ वटै जिल्लाका युवाहरूलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।