काठमाडौँ, २७ श्रावण । दुई दिने नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आज र भोलीको लागि नेपालको औपचारिक भ्रमणमा आएका विदेश सचिवले मिस्रीले राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीका अनुसार उक्त भेटवार्तामा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको छ ।
राष्ट्रपतिको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै सचिव मिस्रीले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
आज बिहान भारतीय वायु सेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिस्रीको स्वागतको लागि परराष्ट्र सचिव लम्साल विमानस्थल पुगेकी थिइन् ।
विदेश सचिव मिस्रीले भारतीय अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको काठमाडौँस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका थिए । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विदेश सचिव मिस्रीले भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगमा बनेको उक्त भवनको संयुक्त रूपमा उद्घाटन गरेको भारतीय दूतावासले जनाएको छ ।
भारत सरकारको सहयोगमा नेपालमा ठुला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न भएका छन् भने नयाँ परियोजनाहरू अघि बढिरहेको अवस्थामा विदेश सचिवको भ्रमण थप फलदायी हुने अपेक्षा गरिएको छ ।