काठमाडौं, २६ श्रावण । भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने भ्रमणको लागि नेपाल आउने भएका छन् ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री श्रावण २७ देखि २८ गते नेपालको औपचारिक भ्रमणमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ ।’
भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भएका छन् भने नयाँ परियोजनाहरु अघि बढिरहेको अवस्थामा विदेश सचिवको भ्रमण थप फलदायी हुने अपेक्षा गरिएको छ ।