भक्तपुर, २५ श्रावण । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले लोकतन्त्रमा पहिलो र दोस्रो दल मिल्नु खासै राम्रो कुरा नभएको बताएका छन् ।
आज साँझ दोलखा जिल्लाका व्यक्तिहरू र नेपाल प्रेस युनियनसँग आवद्ध पत्रकारहरूसँग भक्तपुरको कौशलटारमा भएको भेटघाटको क्रममा उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री काफ्लेले प्रदेशलाई अधिकार नदिने हो भने प्रदेश सरकारको औचित्य पुष्टी गर्न गाह्रो भएको समेत भए । उनले भने, ‘अधिकार प्राप्त भए जनतालाई सेवा दिन सहज हुन्छ। जनताले प्रदेश सरकारलाई कुरा गर्न सहज हुन्छ। यो जनताको सबैभन्दा नजिकको सरकार हो।’
विकासे अड्डाकारूपमा मात्रै सिमित राख्ने हो भने प्रदेश सरकारको अर्थ नहुने मन्त्री काफ्लेको भनाई छ । उनले भने ‘प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ। यो व्यवस्थालाई इमान्दारपूर्वक कार्यान्वन गर्न आवश्यक छ।’
संविधानमा लेखिएका अधिकार प्रदेशलाई नदिएको भन्दै काफ्ले गुनासो समेत राखे ।
पछिल्लो समय प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठिरहेको भन्दै मन्त्रीले काफ्लेले भने ‘संविधानले दिएको अधिकारको अभ्यास पछि पनि रिजल्ट आएन भने प्रदेशका बारेमा प्रश्न उठ्नु जायज हो। तर, संविधानको पूर्ण कार्यान्वयन विना नै प्रश्न उठाउनु युक्तिसंगत हुँदैन।’
उनले पहिलो र दोस्रो दल मिलेर किन सरकार बन्यो भन्ने पुष्टि गर्न आवश्यक रहेको बताए ।
उनले थपे, ‘अहिले नागरिकलाई डेलिभरी गर्न सकिएको छैन। जनतालाई डेलिभरी दिनुपर्छ। संविधान निर्माणका क्रममा नमिलेका विषय मिलाइनुपर्छ। संविधानान लेखिएका मौलिक हकको पूर्ण कार्यान्वयन गर्नुछ।’
कौशलटारको धारा इन नामक रेष्टुरेन्टमा गरिएको कार्यक्रममा ५० भन्दा बढीको सहभागीता रहेको थियोे ।
उक्त भेटघाट कार्यक्रममा प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतम लगायतले प्रदेश सरकारको औचित्यमाथि प्रश्न राखेका थिए ।