नेपालीहरु खानपिनमा सौखिन हुँदै गइरहेका छन् । दिनहुँ नयाँ-नयाँ रेष्टुराँ चहार्दै फरक परिकारको स्वाद लिनमा आम मानिसहरु अभ्यस्त भैरहेका छन् ।
खानाका पारखीहरु नयाँ नयाँ स्वादको खोजिमा हुन्छन् । समयको व्यस्तताले आजित भएकाहरु नयाँ कुराको स्वाद लिन लालायित हुन्छन् । उनीहरुको लागि उचित गन्तव्य हुन सक्छ, तीनकुनेस्थित गैरीगाउँमा रहेको लेकाली किचन एण्ड कटिया हाउस ।
तराईमा प्रचलित कटिया राजधानीबासीका लागि नौलो लाग्न सक्छ । काठमाडौंका बिभिन्न ठाउँहरुमा कटियाको परिकार पाइए पनि लेकाली किचनमा बन्ने कटिया विशेष छ । यो परिकार बिशेष गरी रौतहटको प्रख्यात खाना हो । यो परिकारलाई काठमाडौं भित्र्याउने काम अरुले नै गरे पनि यसको ब्रान्ड बनाउने काम लेकाली किचन एण्ड कटिया हाउसले गरेको छ भन्दा फरक पर्दैन ।
के हो कटिया ?
माटोको भाँडालाई कटिया भनिन्छ । कटियामा खसीको मासु राखी कोइलाको रापमा पकाउने गरिन्छ । प्याज, लसुन, कटिया मसला, खसीको मासुलाई माटाको भाँडा अर्थात कटियामा राखेर पकाउने यस प्रकारका मासु स्वास्थ्यका दृष्टिकोणले समेत हितकर हुन्छ । थोरै मरमसाला, कम बोसो र सफ्ट मिट भएकैले समेत यसले शरीरलाई कुनै हानी गर्दैन । बरु यसरी पकाउँदा मासुमा पाइने पोषकतत्व अन्य तरिकाबाट मासु पकाउँदाको तुलनामा स्वास्थ्यबर्द्धक हुने कुरा पारखीहरु बताउँछन् ।
कसरी शुरु भयो ?
पढेर जागिर नै खानु पर्छ भन्ने मान्यता बिस्तारै घट्दै गएको छ । पढे–लेखेका युवा जागिरको सट्टा अहिले कृषि कर्म र विभिन्न पेशा व्यवसायमा रमाएका छन् । केही समय अघिसम्म पढेर जागिरै खानुपर्छ भन्ने मान्यता राख्नेहरु पनि जागिर छाडेर अहिले अन्य पेशामा लागेका थुप्रै उदाहरणहरु छन् । आफ्नै उद्यम व्यवसाय गर्नुपर्छ भन्ने मान्यतालाई पछ्याउँदै अगाडी बढेका ५ जना युवाहरु मिलेर खोलेको रेष्टुराँ हो, लेकाली किचन एण्ड कटिया हाउस ।
रुपन्देहीको सैनामैना नगरपालिका-११ बुटवलका राज अर्याल र नुवाकोट ककनीका मधुसुदन ढकाल अत्यन्तै मिल्ने साथी थिए । ठाउँ र भुगोल अलग भएपनि उच्च शिक्षा लिने क्रममा काठमाडौंको आरआर क्याम्पसमा उनीहरुको भेट भयो । बुटवलमा आईटी कम्पनी संचालन गरेका अर्याल र लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेका ढकालको योजनामा सञ्चालनमा आएको रेष्टुराँले राम्रो रेस्पोन्स पाइरहेको छ । यो परिकार भित्र्याउन उनीहरुले १ वर्षसम्म अनुसन्धान गरेका थिए । ठाउँ खोज्न, योजना बनाउन, बजेट जुटाउन, परिकारहरुको अध्ययन गर्न लगभग १ वर्ष लागेको उनीहरु बताउँछन् ।
काठमाडौंबासीलाई नयाँ र स्वस्थ्यकर खाना खुवाउने अठोटका साथ उनीहरु देशका बिभिन्न भागहरु घुमे । पहिले आफूले खाने, आफुलाई स्वादिलो लागेमा त्यसलाई आफ्नो रेष्टुराँको मेनुमा राख्ने हेतुले अगाडी बढे । घुम्दै जादाँ रौतहटमा रहेको कटिया हाउसमा पुगे । उनीहरुलाई अनौठो र स्वादिलो लाग्यो । कटियालाई नै ब्रान्ड बनाउने भनेर अठोट लिए । रौतहटबाट कटिया बनाउने सेफको नम्बर लिएर आए । रेष्टुराँ सञ्चालनमा आएपछि उनै सेफलाई काठमाडौं झिकाए ।
लगानी कति छ ?
कटियालाई नै ब्रान्डिङ बनाउने योजना बुने पनि संचालकमाथी चुनौतीको पहाड थियो । बढी मसला र पिरो हुने तराईको परिकार भएकोले राजधानीबासीले नरुचाउने हुन् कि दुबिधा थियो । के हाम्रो परिकार यहाँको बासिन्दाले रुचाउँलान् त ? भन्ने कुराहरु मनमा आए पनि उनीहरुले हिम्मत हारेनन् । बरु चुनौती मोल्न तयार भए । मसला आफै तयार गरेर, पिरो कम हाल्ने योजना सहित अगाडी बढे ।
बिना परिवर्तन नयाँ कुरा सम्भव छैन । ६ महिनासम्म रिङरोडभित्र रेष्टुरेन्ट संचालन गर्ने घर खोज्नमै बित्यो । लामो दौडधुपपछि तिनकुनेको गैरीगाउँमा घर फेला पर्यो ।
शुरुमा ७० लाख रुपैयाँको अनुमानित बजेट बनाएर अगाडी बढेका थिए । तर, व्यवसाय गर्दै जाँदा लगानी १ करोड रुपैयाँ नाघेको सञ्चालकहरु बताउँछन् । रेष्टुराँमा थ्री डी आर्ट, संस्कृति झल्काउने खालका बस्तुहरुले ग्राहकहरुको मन लोभ्याउँछ । बाल्कोनीमा मौलिकता झल्किने बस्तुहरु सजाइएका छन् । मिटिङ हल र अन्य कोठाहरुमा सजाइएका आकर्षक पेन्टिङले भित्ताहरु रंगिएका छन् ।
को हुन् सञ्चालक ?
लेकाली किचन एण्ड कटिया हाउसमा ५ जनाको लगानी रहेको छ । मधुसुदन ढकाल, राज अर्याल, केशब चौलागाई र अन्य दुईको लगानी रहेको उक्त रेष्टुराँ खानाका पारखीहरुको माझ लोकप्रिय बन्दै गएको छ । रेष्टुराँमा अहिले २२ जनाले रोजगारी पाएका छन् ।
लकडाउनमा पनि उनीहरुले नियमित रुपमा भाडा तिरे । लकडाउनले ठप्प भएको बेलामा मासिक डेढ लाख भाडा तिर्नु कुनै जोखिम भन्दा कम थिएन । तर पनि उनीहरुले हरेस नखाइकन अगाडी बढे । १८ जना स्टाफलाई होटलमा नै राखेर खाना र बस्नेको व्यवस्था गरे । लकडाउनको मारमा परेर हजारौं श्रमिक भौतारिएर घर गइरहेको बेला उनीहरु सहारा बने ।
लेकाली किचनको मेनुमा के-के छ ?
लेकाली किचेनको बिशेषता भनेको नै कटिया हो । नौलो र विशेष परिकार भएकाले कटिया अत्यन्तै रुचाइयो । त्यसैको फलस्वरुप सञ्चालकले यसैलाई बढी प्राथमिकतामा राखे । लेकाली किचनको मेनुमा दैनिक ५०/६० वटा कटिया अर्डर हुने गरेको छ ।
कटियामात्र हैन यहाँ अन्य मौलिक स्वादहरु पनि चाख्न सकिन्छ । रेस्टुराँको मेनुमा कालिजका बिभिन्न आइटम (सुप, फ्राइ), लुँइचे कुखुरा, बधिया कुखुरा, च्याङ्ग्राको सुकुटी र पक्कु, लोकल चिकेनका परिकार, हाँसको छोयला, घोंगी र गँगटाका परिकारहरु पनि थपिएका छन् ।
‘हामीकहाँ कोदो र फाँपरको ढिंडो, मार्सी चामल, जेठा बुढाको भात पनि पाईन्छ, हरेक महिना नौलो स्वाद पस्किने हाम्रो प्रयास हो,’ सञ्चालक मध्येका एक अर्यालले भने । हामी नयाँ-नयाँ परिकार ल्याउने तरखरमा छौं, उनले थपे ।
फुर्सदको समयमा उनीहरु केही नयाँ स्वाद पाईन्छ कि भन्दै काठमाडौंमा रेष्टुराँहरु चहार्छन् ।
छतमा कौसी खेती र खोर
खेती गर्ने जग्गा पर्याप्त नहुने सहरी क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न कौसी खेती गरिन्छ। आजभोलि यसको प्रचलन काठमाडौं लगायतका सहरमा बढ्दै गएको छ। यही कुरालाई अपनाएर लेकाली किचेनले आफ्नै रेष्टुराँको छतमा कौसी खेती गरेको छ ।
रेष्टुराँलाई आवश्यक पर्ने धनियाँ, पुदिना, लसुन र प्याज छतमै उत्पादन हुन्छ । त्यति मात्र कहाँ हो र ? छतमा कालिज, लोकल कुखुरा, लुँइचे कुखुरासमेत पालिएको छ । ग्राहकको रोजाई अनुसार ताजा मासु उपलब्ध गराउने उनीहरुको चाहना हो ।
शुक्रवार, माघ ९ २०७७ मा पहिलोपटक केटिएम दैनिकमा प्रकाशित यो सामाग्रीलाई पुन: प्रकाशन गरिएको हो । सम्पादक