सुनसरी, १८ श्रावण । ६ वर्षकी बालिका अपहरण गरेको अभियोगमा सुनसरी प्रहरीले एक महिलासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ५० वर्षीय संजय पासवान, कटहरी गाउँपालिका ६ घर भई विराटनगर १० बस्ने ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
मामाघरको आगनमा खेलिरहेकी ती बालिकालाई संजय पासवानले श्रावण १५ गते दिउँसो ३:०० बजेतिर अपहरण गरेको प्रहरीको दाबी छ । लगत्तै परिवारले खोजतलास गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए ।
अपहरण गरेर संजयले ती बालिकालाई विराटनगर-१० मानव सेवा आश्रम अगाडि कलानन्द र सरिता पासवानको डेरामा राखेका थिए । अपहरण गरेको २७ घण्टापछि प्रहरीले सोही डेराबाट बालिकाको उद्दार गर्न सफल भएको हो ।
प्रहरीका अनुसार संजय मुख्य अभियुक्त हुन भने पासवान दम्पतीले सहयोगी भूमिका निभाएका छन् ।
बालिका अपहरण गरेपछि संजयले बालिकाको मामालाई फोन गरेर ‘तेरो भान्जी मेरो कब्जामा छ, तेरो दिदीलाई बोलाई अनि मात्र बच्चा लिएर आउँछु नभए अर्कैलाई दिन्छु’ भनेका थिए ।
विवाहित रहेका संजय र अपहरणमा परेकी बालिकाको ठूलीआमाबीच प्रेम सम्बन्ध रहेको बुझिएको छ । बालिकाको ठूलीआमा भने अविवाहित हुन् । उनीहरूको सम्वन्धमा मनमुटाव भएपछि ती महिला वैदेशिक रोजगारीको लागि जाने भन्दै काठमाडौं हिँडेकी थिइन् ।
प्रेमिका काठमाडौं गएपछि उनलाई फर्काउनको लागि संजयले ती बालिकाको अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
बालिकाको खोजतलासमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ/सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट टोली खटिएको थियो ।
पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।