रामेछाप, ९ भाद्र । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखखर्कमा रहेको पहरीगाउँमा हिजो गएको पहिरोमा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ ।
आइतबार बिहान ३:३५ बजे माथिबाट पहिरो आउँदा कारण तीन वटा घर बगेका थिए भने एक घर पुरिएको थियो ।
हिजो दिउँसोसम्म छ जनाको शव फेला परेको र चारजना बेपत्ता भएकोमा आज दिउँसो १२:१५ बजेको समयमा ७५ वर्षीया पुड्की पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप कुमार सिंहले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको, संयुक्त सहयोगमा खोजतलास गर्ने क्रममा आज १२:१५ बजेको समयमा बेपत्ता भएकी बर्ष ७५ की पुड्की पहरी मृतक अवस्थामा फेला परेकी हुन् ।‘
उक्त पहिरोमा परेर शैलुङ गाउँपालिका-३ लेखखर्क बस्ने बर्ष ३० की चण्डिका श्रेष्ठ र उनको १८ महिनाको बालक आमुष श्रेष्ठको निधन भएको छ। मृतक चण्डिका श्रेष्ठ स्थानीय कुशेश्वर आधारभूत विद्यालयका बालकक्षा शिक्षक हुन् ।
त्यस्तै स्थानीय ५७ वर्षीया उर्मिला पहरी, २० वर्षका सन्दिप पहरी, ११ वर्षको सन्तोष पहरी र १५ वर्षको विज्ञान पहरीको शव पनि हिजो नै भेटिएको हो ।
पहिरोमा परेर घाइते भएकी ११ वर्षका अन्जना श्रेष्ठको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी चण्डकीकाको घरमा सुत्न आएकी थिइन् ।
पहिरोमा परेर ५५ वर्षका काले पहरी, ५० वर्षकी झाइपुरी पहारी र २१ वर्षकी विन्दा पहारी बेपत्ता छन् ।
पहिरोले पुड्की पहरी, काले पहरी, उर्मिला पहरी र चण्डिका थापामगर (श्रेष्ठ)को घर पुरेको/बगाएको डिएसपी सिंहले बताए ।
हेलिकप्टर लिएर पुगे राज्यमन्त्री
घटनास्थलमा हिजै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) हेलिकोप्टर लिएर गएका छन् ।
घटनास्थलको स्थलगत अनुगमन गर्न पुगेका राज्यमन्त्री तामाङले मृतक परिवारका सदस्यलाई जनही १०-१० हजारका दरले व्यक्तिगत रकम सहयोग गरेको जनाएका छन् ।
उनले घाइते, मृतकका परिवार र पहिरो विस्थापितका लागि संघ सरकारबाट आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने बताए ।