काठमाडौं, ५ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको जनाएका छन् ।
बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन् ।
समितिले छानबिनको क्रममा यसअघि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिइसकेको छ ।
समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सूर्य थापाले बताएका छन् ।
सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थामा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानूनी रूपमा प्रवाह भए नभएको र त्यस्तो गैरकानूनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूबारे अध्ययन छानबिन गर्नेछ।