काठमाडौँ, ३ कात्तिक । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मन्चन गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै ‘प्रतिशोध’ को कलाबिहीन नयाँ नाटक मन्चन भइरहेको बताएका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ बताएपछि यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका हुन् ।
उनले भनेका छन्- ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ-‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो- प्रतिक्षा गरौं ।
थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई दोषी ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
समितिको प्रतिवेदनकै आधारमा लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट शुक्रबार साँझ ६ बजेर ४५ मिनेटमा पक्राउ गरेको हो ।
र यो पनि : रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने