
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का दोस्रोपटक कार्यबाहक प्रधानमन्त्री भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेसँगै खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकिएको हो ।
नेपालको संविधानमा प्रधानमन्त्रीको अनुपस्थितीमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले कार्यबाहक प्रधानमन्त्री तोक्ने व्यवस्था छ ।
यही व्यवस्थाको आधारमा खड्का दोस्रोपटक कार्यबाहक प्रधानमन्त्री बनेका हुन् । यसअगाडि श्रावणको दोस्रो साता पनि खड्का कार्यबाहक प्रधानमन्त्री बनेका थिए ।
आज अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री दाहाल त्यहाँबाट जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानेछन् ।
प्रधानमन्त्री स्वदेश फिर्ता नहुने समयसम्मको लागि खड्काले नै दैनिक प्रशासनिक कार्य गर्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।