
काठमाडौं । संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएको छ ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयाघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए।
उनीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत नेता अस्पताल पुगेका थिए ।
यसैबीच नेम्वाङको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।
विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा छवी बनाएका थिए ।
नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ ।