
सिरहा । भारतीय नम्बर प्लेटको सेन्ट्रो कारमा सवार दुई नेपालीले साथमा ल्याएको ठुलो परिणामको रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरू सवार कारको अगाडिको सिटमुनिको भागमा घर्रा जडान गरेर त्यसभित्र नेपाली रकम लिएर आएको खुलेको हो ।
आज प्रहरीले सिरहा नगरपालिका-१७ माडर काली चौकमा भारतको जयनगरबाट नेपाल तर्फ आउँदै गरेको बीआर७सी ४२२४ नम्बरको कारमा नेपाली रुपैयाँ ४४ लाख नगद बरामद गरेको हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा उक्त कारलाई चेक गर्ने क्रममा सो रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र राज पाण्डेले बताए ।
उक्त कारका चालक सिरहा नगरपालिका-१७ माडर बस्ने वर्ष ५२ को प्रेम कुमार यादव र सोही कारमा सवार सिरहा नगरपालिका-७ हेमनारायण चौक बस्ने वर्ष ४२ को संजय कुमार साहलाई प्रहरी चौकी खिरौना र ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद भएको नगद रुपैयाँको स्रोत नखुलेको हुनाले प्रहरीले उक्त रकम, दुई व्यक्ति र अन्दाजी रु नौ लाख मूल्य बराबरको उक्त कारलाई नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरूलाई भोली थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय,इटहरी बुझाउने तयारी भइरहेको प्रवक्ता पाण्डेले बताए ।
पछिल्ला दिनहरूमा मधेस प्रदेशमा ठुलो परिणाममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली रकम बरामद हुँदै आइरहेको छ ।
यो हप्ता मात्रै झन्डै महोत्तरी र सिरहाबाट स्रोत नखुलेको करिब एक करोड रुपैयाँ बरामद भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले केटिएम दैनिकलाई बताए ।