
काठमाडौं। भारतको नेसनल डिफेन्स कलेज (एनडिसी) टोलीले नेपाल भ्रमण गरेको छ।
हवाई सेवाका उपप्रमुख मनिषकुमार गुप्ताको नेतृत्वमा एनडिसीका शिक्षार्थी सम्मिलित १६ सदस्यीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको हो।
टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवं नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको छ। साथै, टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालय भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग भेटघाट गरेको छ।
राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थामध्ये एक हो।

भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले उक्त कोर्समा सहभागिता जनाएका थिए।
हाल सञ्चालन भइरहेको कोर्समा नेपाली सेनाका तीन अधिकारी सहभागी छन्। सन् १९९२ यता नेपाली सेनाका प्रधानसेनापति शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ अधिकारीले एनडिसीबाट प्रशिक्षण लिइसकेका छन्।