नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठले एउटा छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘वरदान’ नामक छोटो चलचित्रमा यी दुई कलाकारले अभिनय गरेका छन् । दया र नम्रता लामो समयपछि एकसाथ पर्दामा देखिन लागेका हुन् । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा यो चलचित्र बनेको छ ।
नम्रताले फिल्मको कथावस्तु मन परेकाले अभिनय गरेको बताइन्। ‘मानसिक स्वास्थ्य र आत्मह त्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छु’, नम्रता भन्छिन्– ‘यो फिल्मले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु।’ करिब २० मिनेट अवधिको फिल्ममा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनीता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन्।शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा रिलिज गरिने निर्देशक लामाले बताए।