
काठमाडौँ । विराटनगरको ग्रिनक्रस हस्पिटल जन्मिएको एक दिनमै बेपत्ता भएको नवजात शिशु प्रहरीले सकुशल फेला पारेको छ ।
भोजपुर हतुवागढीका गोविन्द राईसँग प्रेममा परेकी एक युवतीबाट जन्मिएको शिशु हराएपछि पक्राउ परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई र राई प्रहरीले हिरासतमा लिएर अनुसन्धान सुरु गरेसँगै उक्त शिशु एक नि:सन्तान दम्पतीलाई बेचेको खुलासा भएको हो ।
गत असार १४ गते विराटनगर महानगरपालिका-९ मा रहेको ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म छ जना पक्राउ गरेको छ ।
ती युवतीले नर्मल डेलिभरीबाटै छोरी जन्माएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार गोविन्दले पहिले आफ्नी प्रेमिकालाई प्रसूतिका लागि ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लगेका थिए। उक्त क्लिनिक डा. कर्णको हो । डा. कर्णले ती युवतीलाई ग्रिनक्रस अस्पतालमा भर्ना गर्न भनेका थिए। सोहीअनुसार युवतीलाई गोविन्दले ग्रिनक्रस अस्पतालमा भर्ना गरेका थिए।
अस्पतालले व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ। अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन्।
उक्त नवजात शिशु डाक्टर कर्णले मोटो रकम लिएर बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन प्रसाद दाहालले बताए । प्रहरी स्रोतका अनुसार बच्चा किनबेचमा पाँच लाख रुपैयाँ खर्च गरिएको छ ।
विवाह गरेको लामो समयसम्म पनि आफ्नो छोरा बुहारीको सन्तान नभएपछि मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलकी दिलमाया राजवंशीले उक्त नवजात शिशु पाँच लाख रुपैयाँमा खरिद गरेको प्रहरीसामु स्वीकारेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले जनाएका छन् ।
‘डाक्टर कर्णले पाँच लाख रुपैयाँ लिएका छन् । दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिलमायाले प्रहरीलाई बयानको क्रममा बताएकी छिन्,’ घटनाको अनुसन्धान संलग्न ती प्रहरी अधिकृतले भने ।
बच्चा जन्मिदा नौ सय ५० ग्राम तौलको रहेकोमा उपचारको लागि विराट मेडिकल कलेजमा दुई लाख पचास हजार खर्च भएको बताइएको छ ।
भदौ १ गते प्रहरीले नवजात शिशुको बाबु भोजपुर, हतुवागढी गाउँपालिका-४ बस्ने वर्ष २७ को गोविन्द राई, दिपेश मेडिकल हल सञ्चालक वर्ष ६८ को डा. तपेश्वरलाल कर्णलाई पक्राउ गरेको थियो । उनीहरूमाथि पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
उक्त घटनामा संलग्न ग्रिनक्रस अस्पतालमा कार्यरत वर्ष ३३ की सुधा राजवंशी, कटहरी गाउँपालिका-२ बस्ने वर्ष ४६ की दिलमाया राजवंशी, वर्ष ३० को सूर्य नारायण राजवंशी र सिराहा, कल्याणपुर नगरपालिका-१२ बस्ने वर्ष ३८ की निर्मला यादव लाई प्रहरीले आज पक्राउ गरेको हो ।
अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित जोडीसँग डा कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको दाबी छ । नर्स स्तरका केही स्वास्थ्यकर्मी पनि डा कर्णका सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् ।
त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा कर्णले अन्यत्र बिक्री गर्दै आएको आरोप पनि लाग्ने गरेको छ ।
डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) एवं राजनीतिमा पहुँच राख्ने चिकित्सक पनि हुन् । उनी विराटनगरमा एक व्यस्त चिकित्सकको रूपमा पनि चर्चित छन् ।
सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका छन् ।