काठमाडौं । जनमत पार्टीबाट संघीय सरकारमा दोस्रो मन्त्री बनेकी अनिता देवी साहले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
आज राष्ट्रपति भवनमा नवनियुक्त मन्त्री साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएकी हुन् । उनलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
जनमत पार्टीको तर्फबाट धनुषाबाट समानुपातिक सासंद बनेकी साह उक्त पार्टीबाट सरकारमा सहभागी भएकी दोस्रो मन्त्री हुन् । यसअगाडि सो पार्टीबाट अब्दुल खान मन्त्री बनेका थिए ।
आफूले चाहेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको जनमत पार्टी पुन सरकारमा सामेल भएको हो ।
नेपालको संविधानले बढीमा २५ जनासम्मको मन्त्रीमण्डल बनाउनुपर्ने बाध्यता सिर्जना गरेको हुँदा जनमत पार्टीलाई मन्त्री दिनको लागि सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको एक मन्त्रीलाई फिर्ता बोल्याइएको थियो ।
संघीय सरकारमा ६ सिट रहेको जनमत पार्टीबाट अहिलेसम्म दुई जना मन्त्री बनिसकेका छन् । पार्टी अध्यक्ष सिके राउतबाहेक अन्य सासंदहरू समानुपातिक कोटाबाट आएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिना लगायतको सहभागिता रहेको थियो ।