काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदैछन् ।
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए ।
सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहाले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताए ।
रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको सचिवालयले जनाएको छ ।
भ्रमणका दौरान प्रधानमन्त्री दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गरेका थिए । सो अवसरमा उनले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा दृढताका साथ अगाडि बढेको बताएका छन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी छन् ।