विराटनगर । नक्कली बाबु बनेर नागरिकताको सिफारिस गर्ने दुई जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
ताप्लेजुङ मौवाखोला ४ का ६१ वर्षीय सूर्यहाङ लिम्बू र सुनसरीको धरान ११ बस्ने ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बूलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङबाट सूर्यहाङ लिम्बूले बेलबारी नगरपालिका ११ बस्ने भन्दै आफू बुबा भएको कागजात बनाएर कास्की पोखरा १० स्थायी घर भएका रविन गुरुङ, पोखरा १२ का प्रसान्त मगर र पोखरा १६ का गणेश गुरुङलाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सो किर्ते धन्दामा सूर्यहाङलाई सूर्यबहादुरले सहयोग गरेका थिए ।
झुटो विवरण पेश गरेको थाहा पाएपछि पक्राउ परेका लिम्बूद्वयले सुरज लिम्बू, साजन लिम्बू र सविन लिम्बूको नाममा झुटो नागरिकता बनाएको खुलेको थियो ।
सूर्यहाङ र सूर्यबहादुर दुवै जना भूतपूर्व (अवकाश प्राप्त) बेलायती सैनिक हुन्। उनीहरुको चिनजान पल्टनमै भएको थियो। बेलायतका अवकाश प्राप्त सैनिक उनीहरुले बेलायती सैनिकमा भर्ना गरिदिने आश्वासन दिँदै पैसा लिएर पोखराका युवालाई नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको छ।
बाबु बनेर नागरिकता बनाइदिएवापत आफूले ५ लाख रूपैयाँ लिएको सूर्यहाङले आफ्नो बयानमा खुलाएका छन्। नागरिकता लिएर तीनै जना बेलायतको सैनिकमा भर्ती भइसकेपछि ३५ लाख रूपैयाँ पाउने भनेकाले आफू नक्कली बाबु बन्न तयार भएको उनले बताएका छन्। ‘३५ लाख रूपैयाँ दिने भनेपछि ठीकै छ भनेर सहमति दिएको हुँ। बाबु बनेर ३ जनालाई नागरिकता पनि दिलाएँ,’ बयानमा सूर्यहाङले भनेका छन्, ‘नागरिकता बनाएदिएवापत अहिले ५ लाख राख्दै गर्नु भनेर दिएका थिए। अरु पैसा पछि (नागरिकता लिएकाहरु बेलायतको सैनिकमा भर्ती भइसकेपछि) दिने भनेका छन्।’
प्रहरीले सूर्यहाङ र सूर्यबहादुरविरुद्ध झुटो नागरिकता बनाएको कसूरमा अनुसन्धान गरेको थियो। अनुसन्धान सकिएपछि पक्राउ परेका सूर्यहाङ र सूर्यबहादुरसहित नागरिकता लिने ३ युवा तथा टेकबहादुरलाई फरार प्रतिवादी बनाएर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मोरङमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको थियो। वकिल कार्यालयले मिसिलका आधारमा अभियोगपत्र तयार पार्दै यस प्रकरणमा संलग्नलाई प्रतिवादी बनाएर झुटो नागरिकता बनाएको कसूरमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्यो।
न्यायाधीश प्रकाश कोइरालाको इजलासले पक्राउ परेका सूर्यहाङ र सूर्यबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। आदेशपछि दुवै जनालाई सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिए।