काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो ।
सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।
राष्ट्रियसभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद बिमला घिमिरेलाई बोल्न अनुमति दिएका थिए ।
सांसद घिमिरेले केही दिनअघि पुस्तक विमोचनको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन कुनै व्यक्ति दिल्ली गएको भनी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाए ।
उनले नेपालको प्रधानमन्त्री नेपाली जनताका प्रतिनिधि रहने सर्वोच्च थलो सार्वभौम संसद्ले बनाउने व्यवस्था रहेको र कुनै व्यक्ति र बाह्य मुलुकले प्रधानमन्त्री बनाउन पहल गरेको सन्देश जाने गरी अभिव्यक्ति दिनु संविधान र मुलुकको स्वाधीनता विपरीत भएको टिप्पणी गरे ।
सांसद घिमिरेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकको नियमित कारबाही सञ्चालन हुननसक्ने स्पष्ट पारिन् । अध्यक्ष तिमिल्सिनाले बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको र यसलाई निष्कर्षमा पुर्याउन समय कम भएकाले बैठक पुनः सञ्चालनका लागि आग्रह गरेका थिए ।
तर एमालेका सांसदहरु उभिएर विरोध जारी राखेपछि सभाध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको घोषणा गरे । राष्ट्रियसभामा विनियोजन विधेयकका बाँकी विभिन्न शीर्षकमाथिको छलफलका लागि यही असार २४ गते निर्धारण गरिएको छ छ । साथै छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीको जवाफका लागि असार २५ र २६ गतेको समय तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते बिहान ११:३१ बजे बस्नेछ ।