काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन् ।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका हुन् ।
अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका छन् ।
“शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना !” उनले भनेका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल बिहीबार साँझ प्रकाशित गरेको हो ।
प्रकाशित नतिजा अनुसार ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ जना, ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ जना, २.८० देखि ३.२० जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ जना छन् ।
यस्तै, २.४० देखि २.८० जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना, २.०० देखि २.४० जीपीए ल्याउनेको संख्या १ लाख दुई हजार २९३ जना, १.६० देखि २.०० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७ जना, १.२० देखि १.६० जीपीए ल्याउनेको संख्या ३८ हजार ७७० जना र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० जना छ ।
यस्तै, १३ हजार ९९२ जना अर्थात् २.९० प्रतिशत विद्यार्थीले कुनै पनि ग्रेड प्राप्त गर्न सकेका छैनन् ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।
परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।