काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले आफूले काम गर्नका लागि पाएको अधिकार क्षेत्रमा मन्त्री सुदन किराँतीले काम गर्न नदिएको आरोप लगाएकी छन् ।
मन्त्रालयद्वारा आयोजना गरिने विभिन्न खाले काम कारबाहीदेखि नीतिगत कुरामा समेत मन्त्री किराँतीले आफूलाई बाइपास गरी आफू खुसी काम गर्ने गरेको राज्यमन्त्री सिर्पाली ठकुरीले बताइन् । उनले भनिन्, “म पनि राज्यमन्त्री हो, मन्त्रालयले गरेका राम्रा कामको जस तथा नराम्रा कामको अपजस मैले पनि लिनु पर्छ तर मन्त्रीज्यूले मलाई बाइपास गरेर एकलौटी काम गर्नु हुन्छ, यसरी कसरी काम हुन्छ ।”
यसै गरी मन्त्री किराँतीले काभ्रेको बनेपा नगरपालिका-१४ राउत गाउँको माथिल्लो भागमा रहेको इटापु डाँडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलीपोर्ट निर्माण गर्न निजी क्षेत्रको हवाई कम्पनी सिम्रिक एअरलाई दिएको सैद्धान्तिक सहमतिका विषयमा पनि आफूसँग तथा सम्बन्धित निकायसँग छलफल एवं सहकार्य नगरिएका कारण समस्या उत्पन्न भएको राज्यमन्त्री सिर्पालीले बताइन् ।
उनले अगाडि भनिन्, “बारीको डिलमा हेलिकप्टर बस्नेलाई हेलीपोर्ट भनिन्छ की हेलिप्याड भनिन्छ ? त्यो बुझ्न जरुरी छ । सम्बन्धित निकायसँग सल्लाह नगरेर सहमति दिँदा समस्या भएकै हो । म पनि राज्यमन्त्री हो मलाई त्यो विषयमा कुनै थाहा नै दिइएको थिएन । जवाफ दिने ठाउँमा म पनि छु त । मलाई किन सोधिएन ? राज्यका नीतिगत काम कुराहरू आफू खुसी गर्न पाइन्छ ?”
राज्यमन्त्री सिर्पालीले राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवसम्म सरुवा गर्ने अधिकार माग्दा समेत मन्त्री किराँतीले उक्त अधिकार नदिएपछि उनीहरुबीच चर्काचर्की सुरु भएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री किराँतीले राज्यमन्त्री सिर्पालीलाई सहसचिवसम्म पदस्थापन गर्ने अधिकार मात्रै दिएको बताइएको छ । पर्यटनमन्त्री किराँतीले मन्त्रालयमा आन्तरिक कर्मचारी सरुवामा पनि राज्यमन्त्रीलाई बाइपास गर्ने र हेपाहा चरित्र देखाएको भन्दै सिर्पालीले आक्रोश व्यक्त गरेकी छन् ।
उनले भनिन्, “हाम्रो ध्यान ओझेलमा परेको छ । हामी मन्त्रालयमा मन्त्री भएर आएको चार महिना सम्म एउटा बिद्ययक पनि सदनमा टेबल गर्न सकेको छैनौँ, भोली जनतालाई के काम गरे भनेर जवाफ दिने ।”
यति मात्र नभई मन्त्रालयमा आयोजना हुने मन्त्रीसहितको कार्यक्रममा राज्यमन्त्री र राज्यमन्त्रीसहितको कार्यक्रममा मन्त्री अनुपस्थित हुने गरेका स्वयम मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।
मन्त्रीले राज्यमन्त्रीलाई हेपाहा व्यवहार देखाउने र विवाद मिलाउनुको साटो पेलेरै जान खोजेपछि यो विषय पार्टीसम्म पुगेको बताइएको छ । मन्त्री किराँती र राज्यमन्त्री सिर्पाली दुवै जना माओवादी पार्टीका नेता हुन् ।
पछिल्लो समय भावनात्मक अभिव्यक्ति र केही गर्ने हुटहुटी देखाएका कारण चर्चामा रहेका मन्त्री किराँती आफ्नै मन्त्रालयमा भने सर्वस्वीकार्य हुन असफल भएको र उनलाई ‘स्टन्ट मन्त्री’ मात्रै भएको कतिपयको बुझाइ रहेको छ ।
र यो पनि :