काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका-६ स्थित धर्मस्थलीमा शुक्रवार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका दुईजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा बा ९१ प २३ ३२ नम्बरका मोटरसाइकल चालक रामेछाप घर भएका २१ वर्षीय रविन मगर र बागमती प्रदेश ०२-०२० प ६४३७ नम्बरको स्कुटर चालक काठमाडौँको तार्केश्वर नगरपालिका ६ का २२ वर्षीय लक्ष्मण बानियाँ रहेका छन् ।
नियन्त्रणमा लिएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा राखिएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले शुक्रवार २१ वटा सवारी साधनका चालकलाई चेक गर्दा दुईजना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।
लागूपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्दै आइरहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनका अलवा सडक सुरक्षा सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसका साथै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा पनि ल्याउँदै आएको छ ।
काठमाडौँ उपत्यकामा हाल दैनिक तीन हजार भन्दा बढी चालक ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाहीमा पर्दै आएका छन् ।