बलिउड सिरिज ‘स्कुप’ की मुख्य पात्र जाग्रुती पाठक सात वर्षको अन्तरालमा ‘डेपुटी चिफ इडिटर’ बनेपछि सहकर्मीमा डाह सुरु हुन्छ । समाचार स्रोतकी धनी र विषयवस्तुलाई फरक ढङ्गबाट प्रस्तुत गर्ने क्षमताले अब्बल बनेकी जाग्रुती सहकर्मीले आफूप्रति गरेको ईर्ष्याबारे जानकार हुन्छिन् ।
प्रहरीदेखि उच्च पदस्थ व्यक्तिसँग सहजै सूचना ग्रहण देख्दा व्यावसायिक प्रतिस्पर्धीले अपकारको नजरले उनलाई हेर्छन्। तथापि, ती अनुचित आचरणदेखि विचलित नभई उनी आफ्नो गन्तव्यमा निरन्तर लम्किन्छिन् ।
त्यसबीचमा आफूमाथि लागेको मुद्दाले गर्दा नौ महिना न्यायिक हिरासतमा बिताउँदै गर्दा सहकर्मीले काखी बजाउँछन्। तर, जेलबाट मुक्त भएपछि उनलाई देशकै सिपालु ‘क्राइम रिपोर्टर’ का रूपमा सबैले स्विकार्छन्।
माथिका तीन ‘प्याराग्राफ’ अपराध बिटमा काम गर्ने भारतीय पत्रकार जिग्ना भोराले लेखेको ‘माइ डेज इन प्रिजन’ मा आधारित सिरिजबाट लिइएको हो । ‘स्कुप’ सिरिजको यो सानो अंशबाट विषयवस्तुतर्फ प्रवेश गरौँ।
हाम्रो समाजमा महिलाको प्रगतिलाई उनको चरित्रसँग जोडेर हेर्न रुचाउँछ। महिलाको प्रगतिलाई विशुद्ध प्रगतिका रूपमा हेर्न झन्झट मान्ने हाम्रो समाजले उनीहरूको पदोन्नतिमा शङ्का गर्छ। समाज महिलाको कोणबाट विषयवस्तु नियाल्न अल्छी मान्छ। यो एक प्रकारको हिंसा हो, सबै हिंसाको अन्तिम परिणाम मानिने मानसिक हिंसा हो।
महिला–पुरुष दुवैले हिंसा खेपेकै हुन्छन् तर पुरुषको तुलनामा महिला धेरै हिंसापीडित हुने तथ्याङ्क जगजाहेर नै छ। कलमको माध्यमबाट अरूलाई सु–सूचित गर्ने कर्ममा लागेका पत्रकारका विषयमा कुरा गर्दा पनि पुरुषभन्दा महिला पत्रकारले धेरै हिंसाको सामना गर्नुपरेको छ।
माथि उल्लेख गरिएझैँ प्रगति पथमा महिला पत्रकारलाई लाग्ने आक्षेपदेखि लिएर पुरुषको तुलनामा महिला पत्रकारले पाउने पारिश्रमिकमा भएको विभेदसँगै यौनजन्य हिंसा पनि उनीहरूले नै धेरै खेप्नुपरेको हुन्छ । एउटै पदमा उत्तिकै मेहनत गर्ने पुरुष पत्रकारको तुलनामा महिला पत्रकारको पसिनाको मोल बराबरी छैन । जसबाट उनीहरू हतोत्साहित हुनु परेको सर्वविदितै छ।
यसले पनि महिला पत्रकारले काम गर्न डराउनुपरेको अवस्था छ भने उनीहरूका अक्षर पनि निडर बन्न सकिरहेका छैनन् । महिला पत्रकारहरू आफ्नै सञ्चारगृहमा हिंसामा पर्ने गरेका थुप्रै उदाहरण छन्, भलै ती कति बाहिर आउँछन्, कति आउँदैनन् !
कोही आफूमाथि भएको हिंसाबारे अनभिज्ञ भएर, आर्थिक सुरक्षा र सामाजिक सुरक्षाका विषयलाई मध्येनजर गर्दै कति घटना सतहमा आएका हुँदैनन् । सहन सकुन्जेल सहेर बसिरहेका महिला पत्रकारहरूले सहन नसकेपछि घटना बाहिरिएको पाइन्छ ।
कार्यालय बसेर काम गर्ने एउटा पत्रकारले धेरै स्रोतसँग कुरा गर्नुपर्छ, मैदानमा काम गर्ने पत्रकारले धेरै स्रोतसँग भेट्नुपर्छ । यस मामलामा पुरुष पत्रकारलाई हाम्रो समाजले स्वतन्त्र छोडिदिएको छ । उनीहरू जतिबेला पनि समाचारसँग सम्बन्धित व्यक्तिलाई भेट्न सक्छन्, कुरा गर्न सक्छन् ।
तर, महिला पत्रकारका लागि भने समाजले काम गर्ने तौर–तरिका नै छुट्याएको छ । पुरुष पत्रकार कामको सिलसिलामा बाहिर बस्दा पनि समाजले वास्ता गर्दैन तर महिला पत्रकार कामबाट ढिला घर फर्किँदा प्रश्नहरूको चाङ लाग्छन् । प्रगति पथमा लम्किने दृढ सङ्कल्प लिएका महिला पत्रकारहरूलाई यस्ता हिंसाहरूले प्रभाव तुल्याउँछ ।
अझ, सोसल मिडियाबाट होस् वा भौतिक रूपमा होस् । यौनजन्य हिंसाबाट थुप्रै महिला पत्रकारहरू गुज्रिरहेका हुन्छन् । रिपोर्टिङका क्रममा सहकर्मीबाट, कार्यालयमा अभिभावकसरहका सम्पादक तथा सञ्चालकबाट तथा सञ्चार निकायको उच्च पदमा रहनेहरूले गरेको हिंसा केही घटनाहरू पनि बाहिरिएका छन् । यस्ता केही घटनाहरू समाचारकै रूपमा आएका पनि हामीले सुनेकै छौँ ।
समाचार स्रोत वा समाचारसँग सम्बन्धित व्यक्तिको ‘कूनियत’बाट पनि महिला पत्रकारले जोगिन हम्मे हम्मे हुने गरेको छ । यस्ता कति घटना समाचारका रूपमा आउँदा महिला पत्रकारमाथि भएका कतिपय घटना भित्रभित्रै दबाइएका पनि होलान् !
पत्रकारले जबसम्म आफूलाई सुरक्षित महसुस गर्दै तबसम्म उसका अक्षर निडर बन्न सक्तैनन् । जबसम्म महिला पत्रकारले आफ्नो कलम नै धरमराएको अवस्था देख्छ, तबसम्म उनीहरूले अपेच्छाकृत गन्तव्य झन्–झन् टाढा देख्नु स्वाभाविक नै हो ।
पत्रकारिता गर्न मेहनत, लगनशीलताका साथै पर्याप्त साहस आवश्यक हुन्छ । तर, आफैँ असुरक्षित महसुस गर्ने पत्रकारले समाज र जनताको हितमा समर्पित भएर कसरी पत्रकारिता गर्न सक्छ ? कसरी निर्भीक भएर समाजलाई सेवा पुर्याउन सक्छ ?
यी र यस्ता प्रश्नहरूको जबाफ भनेको महिला पत्रकारको सुरक्षाको ग्यारेन्टी नै हो । यसैले महिला पत्रकारमाथि हुने सबै किसिमका हिंसा बन्द हुनुपर्छ। यसो भएमा महिलाहरू पत्रकारितामा आत्मसम्मानपूर्वक काम गरेर देशका लागि योगदान दिन सक्छन्।