जानकी । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिकजसो कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ ।
भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पष्टि भए होम आइसोलेशनमा पठाउने गरिएको छ । सुरुमा कोरोना महामारी फैलिँदा नेपालगञ्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो ।
हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत् छन् । गत चैत ३ गतेदेखि आइतवारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधि समेत दिइन्छ ।
तर, नाकामा आइसोलेशनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेशनमा पठाउने गरिएको छ । कोरोना महामारी सुरु भएपछि हालसम्म नाकामा एक लाख १५ हजार वटा नमूना परीक्षण भइसकेको छ ।
“सबैले परीक्षण गर्न मान्दैनन्, नाका हुँदै नेपाल भित्रिने सबैलाई अनुगमन गर्ने अवस्था पनि छैन”, हेल्थ डेस्कका प्रमुख गीता गिरी शाहीले भनिन् । उनका अनुसार भारतका पञ्जाब, दिल्ली, लखनउबाट आउने यात्रुमा बढी कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै कोरोना सङ्क्रमण पुष्टि भएकाहरुमा कुन भेरियन्ट हो भन्ने पत्ता नलागेको बताए ।
कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहको रोहबरमा होम आइसोलेशनमा व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।