लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् । आज बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरेका थिए ।
नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले प्रदेशसभामा विश्वास मतको प्रस्ताव राख्दा उनको पक्षमा ५३ मत परेको छ ।
यस्तै, विश्वासको मतको विपक्षमा २९ र चारजना तटस्थ रहेका छन् । प्रदेश सभामा रहेका १० दलमध्ये विश्वासको मतको पक्षमा आठ दलका ५२ जना र एक स्वतन्त्र सांसदगरी ५३ जनाले मतदान गरेका छन् ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका नौ, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमतका तीन/तीन, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा एक/एक र एक स्वतन्त्र सांसदसहित ५३ जनाले मतदान गरेका थिए ।
यस्तै, विपक्षमा नेकपा (एमाले)का २९ र राप्रपाका चार गरी ३३ जना रहेका छन् । प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री चौधरीले प्रदेशका जनताको आर्थिक समृद्धिका लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने बताए।
उनले प्रदेशका जनतालाई आशा र विश्वास दिलाउनेगरी काम गर्ने र प्रदेशको अधिकार प्राप्तिका लागि विपक्षी दललाईसँगै हिंड्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त चौधरी विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारीमा छन् ।
यही वैशाख १५ गते मुख्यमन्त्री चौधरीसँगै शपथ लिएका तीनजना मन्त्रीको अहिलेसम्म विभागीय जिम्मेवारी तोकिएको छैन । माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी बिनाविभागीय मन्त्री रहेका छन् ।