स्वर्गद्वारी । प्यूठानको ऐरावती गाउँपालिका-६ बिजुली सेतीथुमकी सीता खनाललाई एक गाग्री पानी लिन दुई घण्टा हिंड्नुपर्छ ।
आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ । पशुचौपायालाई पानी खुवाउन सहजताका लागि घैंटो बनाए पनि सधैं नपुग्ने भएपछि सधैं हैरानी व्यहोर्नुपरेको छ । ऐरावती गाउँपालिका-६ बिजुली बरम पोखराकी हेमन्ता थापामगर पूर्व वडा सदस्य हुन् ।
आफ्नो कार्यकालमा जति सहजीकरण गर्न खोजे पनि पानी लिन नसकेकोमा उनी दु:खी छिन् । “आधा उमेरसम्म खानेपानीको हाहाकारमा जिउनु परेको छ, सबेरै उठेर पँधेरो पुग्ने र घण्टौं लाइन लागेर पानीको जोहो गर्नुपर्ने दैनिकि छ ।”, उनले भनिन् ।
प्यूठानका पहाडी भेगका केही स्थानीय बस्तीमा गर्मीयाम सुरु भएदेखि पिउने पानीको समस्या देखिन्छ । ऐरावती गाउँपालिकाको बिजुलीका अधिकाशं बस्ती वर्षौंदेखि काकाकुल बन्नु परेको छ । घण्टौं लगाएर पानीको जोहोमा जुट्नुपर्दा दैनिकीमा समेत असहजता भएको छ ।
बिहानै पँधोरो पुग्ने, घण्टौं पालो कुर्ने र खोल्साको पानी भर्ने काममा गाउँका महिला वर्षौंदेखि समस्यामा छन् तर, अहिले पनि गाउँमा पानीको समस्या टरेको छैन । ऐरावती गाउँपालिका-६ भित्रका बरमपोखरा, सेतीथुम, च्युरापानी, मणाईलगायत आधादर्जन बढी गाउँमा खानेपानीका लागि यस्तै समस्या छ ।
यहाँका डेढ सय बढी परिवारले वर्षौंदेखि खोल्सीको पानीले धौधौ गरेर प्यास मेट्ने गरेका छन् । बोकेको पानीले पशु चौपायालाई नपुग्ने भएपछि स्थानीयवासीले वर्षामा पानी जम्मा पार्न घरैपिच्छे घैंटा बनाएका छन् । वर्षायाम बाहेक अन्य समयमा ती घैंटाको पानी सकिने गरेको छ ।
एकातिर महिला परिवार चलाउन घण्टौं टाढाको बाटो धाएर पानी बोक्न बाध्य भएको स्थानीय जीवकला थापामगरको गुनासो छ । उनका अनुसार पानीकै समस्याले खेतबारी बाँझै छाडेर बसाइँ सर्ने पनि बढेका छन् । ऐरावतीको वडा नं. ६ मा बितेको २१ महिनामा ४७ परिवार बसाइँसरेको तथ्याङ्क छ ।
गाउँमा पानीको समस्या देखाउँदै अधिकांशले थातथलो छाड्ने गरेका हुन् । नेपालमा सामान्यतया प्रतिदिन प्रतिव्यक्ति ४५ लिटर पानी उपलब्ध भएमा आधारभूतस्तरको सुविधा मानिन्छ । त्यसमा पानी लिएर आउने समय ३० मिनेटभन्दा कम हुनुपर्छ ।
तर, पछिल्लो समय पहाडी जिल्लामा जथाभावी सडक निर्माण गर्दा पानीका मुहान पुरीने, सुक्ने जस्ता समस्या देखिने गरेका छन् । ऐरावतीको खानेपानीको समस्या हल गर्नका लागि ल्याइएको झिमरुक खोला बिजुली लिफ्ट आयोजना चार वर्षदेखि अलपत्र छ ।
खानेपानी लाइनको विषयमा विवाद हुँदा समयमा काम गर्न नसकिएको ऐरावती गाउँपालिकाले बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले विवाद समाधान गरी खानेपानी योजना निर्माण सम्पन्न गर्न लाग्ने बताए।
“केही विवादका कारण योजना अलपत्र जस्तै भएको हो, मेरो पहिलो प्राथमिकता खानेपानी पुर्याउन समन्वय गर्नेमा छ ।” भण्डारीले भने । खानेपानी जस्तो संवेदनशील विषयमा सबै दल एक ठाउँ उभिइ समाधान खोज्नुपर्ने उनको भनाइ छ । रासस