काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । युएईले छ अङ्क जोड्दै समूह ‘बी’ बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
यससँगै समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ । पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जीतका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो ।
जवाफमा युएईले २७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्धतमा अविजित ६२ रन बनाए ।
त्यसैगरी, रोहन मुस्तफाले ५० रन जोडे । उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३/२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए ।
वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए । बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई/दुई विकेट लिए ।
यस हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ ।