काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा ओमनले साउदी अरेबियालाई जीतका लागि ३६७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धशतक प्रहार गरे ।
ओमनका जितेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन् । त्यसैगरी, ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे ।
त्यस्तै, कस्यप प्रजापतिले ५१ रनको योगदान दिए । बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस खेलको विजेता टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्नेछन् ।