काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर सम्पर्कबिहीन भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-७ घर भई हाल काठमाडौंको कपन बस्ने हरीकला दाहाल रहेकी छन् ।
उनले दिपक दाहाल समेत पाँचजना लाई वैदेशिक रोजगारीको लागि ईजरायल पठाईदिन्छु भनेर ४८ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् । ईजरायल पुगेपछि कन्सटक्सनमा काम लगाईदिन्छु भन्दै प्रलोभन देखाएकी थिइन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट खटिएको प्रहरी टोलीले मंगलबार (हिजो) चावहिलबाट पक्राउ गरेको हो ।
त्यस्तै सिंगापुर पठाइदिन्छु भन्दै रकम लिएर सम्पर्कबिहीन भएका झापा अर्जुनधारा नगरपालिका-१ घर भई हाल गोगंबु बस्ने ओमनाथ मैनालीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
मैनालीले मिना बहादुर रानालाई बैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिन्छु र त्यहाँ राम्रो होटलमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटक पटक गरी छ लाख ४० लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए ।
पक्राउ परेका मैनालीलाई थप अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।